Skip to content Skip to left sidebar Skip to footer

परिच्छेद – ४ चालक अनुमतिपत्र सम्बन्धी व्यवस्था

 

२०. चालक अनुमतिपत्रको लागि दरखास्तः (१) ऐनको दफा ४८ बमोजिम चालक अनुमतिपत्र लिन चाहने व्यक्तिले अनुसूची–३ बमोजिमको दस्तुर सहित कुनै कार्यालयमा अनुसूची–१७ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त दिंदा दरखास्त साथ दरखास्तवालाको निरोगीताको सम्बन्धमा नेपाल सरकारद्वारा मान्यता प्राप्त चिकित्सकले अनुसूची–१८ बमोजिमको ढाँचामा प्रमाणित गरेको निरोगीताको प्रमाणपत्र समेत संलग्न गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम दरखास्त दिने व्यक्तिहरूमध्ये ऐनको दफा ४९ बमोजिम चालक अनुमतिपत्रको लागि लिइएको परीक्षणमा सफल भएका व्यक्तिहरूलाई मात्र चालक अनुमतिपत्र दिईनेछ ।
(४) उपनियम (३) बमोजिम चालक अनुमतिपत्र दिंदा निजी सवारी र सार्वजनिक सवारीको लागि चालक अनुमतिपत्र छुट्टाछुट्टै रूपमा दिन सकिनेछ ।
(५) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि यो नियमावली प्रारम्भ भएपछि साठी वर्ष उमेर पूरा भएका कुनै व्यक्तिलाई ठूलो र मझौला सार्वजनिक सवारी चलाउन अनुमतिपत्र दिइने छैन ।
(६) सानो सवारी चलाएको दुई वर्ष पूरा नभएसम्म अनुसूची–१८क. मा उल्लिखित सवारी बाहेक अन्य मझौला र ठूलो सवारी चलाउन चालक अनुमतिपत्र दिइने छैन ।
२०क.विद्युतीय परिचय पत्रको रूपमा दिनु पर्नेः नियम २० बमोजिम दिइने चालक अनुमति पत्र विद्युतीय परिचयपत्र (इलेक्ट्रोनिक स्मार्ट कार्ड) को रूपमा दिनु पर्नेछ ।

तर चालक अनुमतिपत्र विद्युतीय परिचयपत्र (इलेक्ट्रोनिक स्मार्ट कार्ड) को रुपमा दिने सम्बन्धमा आवश्यक पूर्वाधारको व्यवस्था नहुञ्जेलसम्मका लागि नेपाल सरकारले तोके बमोजिमको चालक अनुमतिपत्र दिईनेछ ।

२०ख. परीक्षाको किसिमः  (१) विभागले ऐनको दफा ४९ बमोजिम चालक अनुमतिपत्रको लागि दरखास्तवालाको परीक्षण गर्दा देहाय बमोजिमको परीक्षा प्रणाली अपनाउनेछः–
(क) लिखित परीक्षा
(ख) प्रयोगात्मक परीक्षा
(ग) अन्य कुनै परीक्षा

(२) उपनियम (१) को खण्ड (क) बमोजिम लिखित परीक्षामा उत्तीर्ण हुने दरखास्तवालाले लिखित परीक्षा उत्तीर्ण भएपछि नब्बे दिनभित्र तीन पटकसम्म प्रयोगात्मक परीक्षा दिन सक्नेछ ।

२१. चालक अनुमतिपत्र दर्ता किताबः नियम २० बमोजिम दिइएको चालक अनुमतिपत्रको लगत अद्यावधिक रूपमा राख्न कार्यालयले अनुसूची–१९ बमोजिमको ढाँचामा चालक अनुमतिपत्र दर्ता किताब तयार गरी राख्नु पर्नेछ ।

२२. चालक अनुमतिपत्रमा अरू सवारी समावेश गर्नेः (१) नियम २० बमोजिम दिइएको चालक अनुमतिपत्रमा उल्लिखित सवारीका अतिरिक्त अन्य कुनै सवारी समावेश गराउन चाहेमा चालकले ऐनको दफा ५५ बमोजिम समावेश गराउन चाहेको सवारीको किसिम खुलाई अनुसूची–३ बमोजिमको दस्तुर सहित त्यस्तो अनुमतिपत्र दिने कार्यालयमा अनुसूची–१७ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा कार्यालयले ऐनको दफा ५५ बमोजिमको कार्यविधि अपनाई दरखास्तवालालाई पहिले दिएको अनुमतिपत्रमा उल्लिखित सवारीको अतिरिक्त निजले समावेश गराउन चाहेको सवारी
समावेश गरी नयाँ चालक अनुमतिपत्र दिनेछ ।

२३. चालक अनुमतिपत्रको नवीकरणः (१) चालकले ऐनको दफा ५६ बमोजिम चालक अनुमतिपत्रको नवीकरणको लागि अनुसूची–३ बमोजिमको दस्तुर सहित त्यस्तो अनुमतिपत्र दिने कार्यालयमा अनुसूची–२१ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम चालक अनुमतिपत्रको नवीकरणको लागि दरखास्त दिंदा अनुसूची–१८ बमोजिमको ढाँचाको निरोगीताको प्रमाणपत्र समेत संलग्न गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम चालक अनुमतिपत्रको नवीकरणको लागि दरखास्त पर्न आएमा कार्यालयले आवश्यक जाँचबुझ गरी त्यस्तो चालक अनुमतिपत्र नवीकरण गर्न उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही चालक अनुमतिपत्र नवीकरण गरी सो को व्यहोरा अनुसूची–१९ बमोजिमको चालक अनुमतिपत्र दर्ता किताब तयार गरी राख्नु पर्नेछ ।
(४) एउटा कार्यालयबाट दिइएको चालक अनुमतिपत्र उपनियम (३) बमोजिम अर्को कार्यालयबाट नवीकरण गरिएकोमा नवीकरण गर्ने कार्यालयले यथासक्य छिटो सो कुराको जानकारी त्यस्तो चालक अनुमतिपत्र दिने कार्यालयलाई दिनुपर्नेछ र त्यस्तो जानकारी प्राप्त हुन आएमा चालक अनुमतिपत्र दिने कार्यालयले पनि त्यस्तो चालक अनुमतिपत्र नवीकरण भएको व्यहोरा अनुसूची–२३ बमोजिमको दर्ता किताबमा जनाउनु पर्नेछ ।

२३क. चालक अनुमतिपत्रको निलम्बनः देहायको कार्य गरेमा अधिकार प्राप्त अधिकारीले त्यस्तो चालकको अनुमतिपत्र ऐनको दफा ६० बमोजिम निलम्बन गर्न सक्नेछः–
(क) यात्रीवाहक सार्वजनिक सवारीको चालकले ऐनको दफा १०२ विपरीत यातायात सञ्चालन गरेमा,
(ख) यात्रीवाहक सवारीको चालकले मालसामान (यात्रीको झिटीगुन्टा बाहेक) बोकेमा र मालवाहक सवारीले यात्रु बोकेमा,
(ग) पर्यटक सवारीको चालकले पर्यटक बाहेक अन्य यात्री बोकेमा,
(घ) निजी सवारीले ऐनको दफा ८ को उपदफा (२) विपरीत यातायात सेवाको लागि प्रयोग गरेमा,
(ङ) सार्वजनिक सवारीको चालकले ऐनको दफा ७५ बमोजिम बाटो इजाजतपत्र नलिएको बाटोमा सवारी चलाएमा,
(च) सवारी चालकले सवारी चलाउँदा मोबाइल फोनको प्रयोग गरेमा,
(छ) चालकले मादक पदार्थ तथा अन्य लागू पदार्थ सेवन गरी सवारी चलाएमा ।

२४. चालक अनुमतिपत्रको प्रतिलिपिः (१) ऐनको दफा ६२ बमोजिमको अवस्था परी चालक अनुमतिपत्रको प्रतिलिपि आवश्यक परेमा सम्बन्धित चालकले त्यस्तो चालक अनुमतिपत्र दिने कार्यालयमा अनुसूची–३ बमोजिमको दस्तुर सहित अनुसूची–२४ बमोजिमको ढाँचामा
दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा त्यस्तो दरखास्तको सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी दरखास्तवालाको माग बमोजिम चालक अनुमतिपत्रको प्रतिलिपि दिन आवश्यक देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही चालक अनुमतिपत्रको प्रतिलिपि दिई अनुसूची–१९ बमोजिमको चालक अनुमतिपत्र दर्ता किताबमा सो व्यहोरा जनाउनु पर्नेछ ।

२५. चालकको मृत्युको सूचना दिनुपर्नेः (१) ऐन तथा यस नियमावली बमोजिम चालक अनुमतिपत्र प्राप्त व्यक्तिको मृत्यु भएमा मृत्यु भएको मितिले पैंतीस दिनभित्र त्यस्तो मृतकको नजिकको नातेदारले निजको मृत्युको सम्बन्धमा प्रचलित कानून बमोजिमको
मृत्यु दर्ता प्रमाणपत्र लिई त्यस्को प्रतिलिपि त्यस्तो चालक अनुमतिपत्र दिने कार्यालयमा बुझाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम मृत्युको बारेमा जानकारी दिंदा मृतकको चालक अनुमतिपत्र उपलब्ध भएमा सो समेत बुझाइदिनु पर्नेछ र त्यस्तो जानकारी प्राप्त हुन आएमा सम्बन्धित कार्यालयले पनि अनुसूची–१९ बमोजिमको चालक अनुमतिपत्र दर्ता किताबबाट निजको लगत कट्टा गरिदिनु पर्नेछ ।