Skip to content Skip to left sidebar Skip to footer

परिच्छेद ६- भुक्तानी उपकरण तथा फर्स्यौट

31. भुक्तानीका उपकरण: (१) भुक्तानी प्रणालीमा देहाय बमोजिमका भुक्तानीका उपकरणको प्रयोग हुनेछ:-

(क)   नगद,

(ख)   चेक,

(ग)   विद्युतीय बैंकिङ्ग (इ…बैंकिङ्ग),

(घ)   भुक्तानी कार्ड,

(ङ)   स्वीफ्टको माध्यमबाट हुने भुक्तानी,

(च)   अन्तर बैङ्क भुक्तानी,

(छ)   इ…मनी (वालेट),

(ज)   मोबाइल बैकिङ्ग,

(झ)   तोकिए बमोजिमका अन्य भुक्तानी उपकरण।

(२) भुक्तानी उपकरण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

32. कारोबारको फर्स्यौटः (१) बैङ्क वा संस्थाले प्रत्येक भुक्तानी आदेश वा प्रत्येक भुक्तानी कारोबारको फर्स्यौट गर्दा त्यस्तो आदेश वा कारोबार वास्तविक समय (‍रियल टाइम) मा छुट्टाछुट्टै तरिकाले फर्स्यौट गर्नुपर्नेछ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्क वा संस्थाले कारोबारको फर्स्यौट गर्दा निश्चित समयको अन्तरालभित्र प्राप्त भुक्तानी आदेश वा भुक्तानी कारोबारलार्इ भुक्तानीसँग सम्बन्धित खाता डेबिट वा क्रेडिट नेटिङ्गको आधारमा एकमुष्ठ रूपमा अन्तराल हिसाब गरी कारोबारको फर्स्यौट गर्न सक्नेछ।

स्पष्टीकरणः यस उपदफाको प्रयोजनको लागि “नेटिङ्ग” भन्नाले बैङ्कले तोकेको प्रक्रिया बमोजिम निश्चित अवधिमा भुक्तानी तथा फर्स्यौट कार्यमा संलग्न कम्पनीहरु बीच भएको कारोबारको बैङ्क मार्फत खुद हिसाब मिलान गर्ने प्रणाली सम्झनु पर्छ।

(३) नगद, ट्रान्सफर र स्वीफ्ट कारोबारको फर्स्यौट उपदफा (१) बमोजिम र विद्युतीय चेक राफसाफ (क्लियरिङ्ग) मार्फत हुने दैनिक कारोबारको फर्स्यौट उपदफा (२) बमोजिम गर्नुपर्नेछ।

(४) आरटिजिएस बमोजिम हुने ठूलो मूल्य भुक्तानी कारोबारको फर्स्यौट उपदफा (१) बमोजिम हुनेछ।

(५) विद्युतीय चेक राफसाफ (क्लियरिङ्ग) गर्दा समाशोधन गृह (क्लियरिङ हाउस) मार्फत हुने कारोबार बैङ्कले तोकेबमोजिम कुल फर्स्यौट वा खुद फर्स्यौट विधि मार्फत गर्नुपर्नेछ।

स्पष्टीकरणः यस उपदफाको प्रयोजनको लागि “कुल फर्स्यौट” भन्नाले सेवाग्राहीको आदेश बमोजिम छुट्टाछुट्टै तरिकाले गरिने कारोबारको फर्स्यौट र “खुद फर्स्यौट” भन्नाले निश्चित समय अन्तरालमा वा बैङ्कले निर्धारण गरे बमोजिम कारोबारको एकमुष्ठ फर्स्यौट सम्झनु पर्छ।

(६) धितोपत्र तथा ऋणपत्रको निष्कासन, ब्याज गणना, लाभांश भुक्तानी, सावाँ तथा ब्याज भुक्तानी, स्वामित्व हस्तान्तरण तथा खरिद बिक्री सम्बन्धी कारोबारको फर्स्यौट धितोपत्र तथा ऋणपत्र सम्बन्धी प्रचलित कानून बमोजिम हुनेछ।

33. अन्तिम फर्स्यौट: (१) संस्थाले बैङ्कले समय समयमा दिएको निर्देशन अनुसार बैङ्क मार्फत कारोबारको अन्तिम फर्स्यौट जोखिम कम हुने गरी छिटो, छरितो र प्रभावकारी रुपमा हुने व्यवस्था मिलाउनु पर्नेछ।

(२) संस्थाले कारोबारको कुनै पनि बेला अन्तिम फर्स्यौट हुन सक्ने गरी पर्याप्त तरलता, धितो सुरक्षण र जोखिम व्यवस्थापन गर्नुपर्नेछ।

(३) बैङ्कको खातामा कुल वा खुद कारोबार जुनसुकै रुपमा भए तापनि वास्तविक रकम हस्तान्तरण भएपछि मात्र कारोबारको अन्तिम फर्स्यौट हुनेछ।

(४) कारोबारको अन्तिम फर्स्यौट भइसकेपछि कुनै पनि भुक्तानी फिर्ता गर्न वा पुनः भुक्तानी गर्न पाइने छैन।

तर कुनै कारणवश हिसाब फरक पर्न गएमा प्रमाणको आधारमा हिसाब मिलान गर्न बाधा पुगेको मानिने छैन।

(५) संस्थाले बैङ्कले निर्धारण गरे बमोजिम कुनै रकम, तरल सम्पत्ति वा उपकरण सुरक्षण बापत धितो राख्न सक्नेछ।

(६) उपदफा (५) बमोजिम सुरक्षण बापत राखिएको धितो संस्थाले व्यहोर्नु पर्ने भुक्तानी सम्बन्धी अन्य दायित्व निर्वाहका लागि समेत प्रयोग गर्न सकिनेछ।

(७) संस्थाले भुक्तानीको अन्तिम हिसाब मिलान गर्दा बैङ्क मौज्दात वा उपदफा (५) बमोजिम राखिएको धितो वा सुरक्षणले नखामेको अवस्थामा कुनै विशेष समय तोकिएको रहेछ भने सोही समयभित्र र समय तोकिएको रहेनछ भने सोही दिन (इन्ट्राडे) हिसाब मिलान हुने गरी बैङ्कले संस्थालार्इ ऋण उपलब्ध गराउन सक्नेछ।

34. आरटिजिएस प्रणालीबाट फर्स्यौट गर्नु पर्नेः (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्कले तोकिदिए बमोजिम ठूलो मूल्य र अति जरूरी भुक्तानी (हाइभ्यालु एण्ड क्रिटिकल पेमेन्ट) तथा कारोबारको फर्स्यौट आरटिजिएस कुल वा खुद प्रणाली बमोजिम गर्नुपर्नेछ।

(२) आरटिजिएस प्रणालीको सञ्चालन कार्यविधि, सदस्यता, कारोबारको सीमा, सेवा शुल्क, तरलताको व्यवस्था, जोखिम व्यवस्था, कारोबार समय, फर्स्यौट विधि लगायतका व्यवस्था तोकिए बमोजिम हुनेछ।