Skip to content Skip to left sidebar Skip to footer

परिच्छेद–१२ विविध

७२. सम्झौताद्वारा व्यवस्था गर्न सकिनेः विद्युतीय अभिलेख सृजना गर्ने, सम्प्रेषण गर्ने, प्राप्त गर्ने, जम्मा गर्ने वा अन्य कुनै किसिमबाट प्रशोधन गर्ने कार्यमा संलग्न पक्षहरुले तत्सम्बन्धी आफ्ना काम कारबाहीका सम्बन्धमा परिच्छेद–३ का कुनै वा सबै व्यवस्था लागू नहुने गरी वा सो परिच्छेदमा उल्लिखित व्यवस्थाहरुमा केही परिवर्तन गरी सो बमोजिम आफ्ना काम कारबाही व्यवस्थित हुने गरी सम्झौताद्वारा व्यवस्था गर्न सक्नेछन् ।
७३. नेपाल सरकारले निर्देशन दिन सक्नेः यो ऐनको कार्यान्वयन गर्ने सम्बन्धमा नेपाल सरकारले नियन्त्रक तथा प्रमाणीकरण गर्ने निकायलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु नियन्त्रक तथा प्रमाणीकरण गर्ने निकायको कर्तव्य हुनेछ ।
७४. उजुर गर्ने हदम्यादः यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको उल्लंघन भएकोमा वा यो ऐन बमोजिम कसूर ठहर्ने कुनै कुरा भएकोमा त्यस्तो उल्लंघन वा कसूर भए गरेको थाहा पाएको मितिले पैंतीस दिनभित्र उजुर गर्नु पर्नेछ ।
७५. नेपाल सरकार वादी हुनेः (१) यस ऐन बमोजिम कसूर ठहर्ने मुद्दा नेपाल सरकार वादी भई चल्नेछ र त्यस्तो मुद्दा सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची–१ मा समावेश भएको मानिनेछ ।
(२) उपदफा (१) बमोजिमको मुद्दामा अनुसन्धान गर्दा प्रहरीले नियन्त्रक वा अन्य सम्बन्धित विशेषज्ञको सहयोग लिनु पर्नेछ ।
७६. क्षतिपूर्ति भराउनु पर्नेः यस ऐन बमोजिम कसूर गरेको कारणबाट कसैलाई कुनै किसिमको हानि नोक्सानी भएको रहेछ भने त्यस्तो हानि नोक्सानीको क्षतिपूर्ति समेत कसूरदारबाट भराई दिनु पर्नेछ ।
७७. यो ऐन लागू नहुनेः (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायका विषयमा यो ऐन लागू हुने छैन ः–
(क) विनिमेय अधिकारपत्र ऐन, २०३४ मा उल्लेख भए बमोजिमका विनिमेय अधिकारपत्रहरु,
(ख) बकसपत्र, राजीनामा, बन्धकी, कबुलियतपत्र, बण्डापत्र वा त्यस्तै प्रकृतिका अचल सम्पत्तिको हक हस्तान्तरण गर्ने लिखतहरु,
(ग) अचल सम्पत्ति उपर हक वा स्वामित्व जनाउने अन्य कुनै लिखतहरु,
(घ) वारेसनामा, फिरादपत्र, प्रतिउत्तरपत्र वा त्यस्तै अन्य प्रकारका अदालती कारबाहीमा प्रयोग हुने लिखतहरु,
(ङ) दाबीपत्र, प्रतिदाबीपत्र, प्रतिवादपत्र वा मध्यस्थताको कारबाहीमा लिखित रुपमा पेश गर्नुपर्ने अन्य त्यस्तै लिखतहरु,
(च) प्रचलित कानूनले विद्युतीय स्वरुपमा राख्न नहुने भनी तोकेका लिखतहरु ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी उपदफा (१) मा उल्लिखित लिखतहरुमा आवश्यकतानुसार थपघट गर्न सक्नेछ ।
७८. नियम बनाउने अधिकारः यस ऐनको उद्देश्य पूर्तिको लागि नेपाल सरकारले आवश्यक नियम बनाउन सक्नेछ ।
७९. निर्देशिका बनाई लागू गर्नेः यस ऐनको उद्देश्य पूर्ति गर्नको लागि नेपाल सरकारले यो ऐन तथा यस ऐन अन्तर्गत बनेका नियमहरुको अधीनमा रही आवश्यक निर्देशिका बनाई लागू गर्न सक्नेछ ।

८०. विद्युतीय (इलेक्ट्रोनिक) कारोबार अध्यादेश, २०६२ निष्क्रिय भएपछि त्यसको परिणामः विद्युतीय (इलेक्ट्रोनिक) कारोबार अध्यादेश, २०६२ निष्क्रिय भएपछि अर्को अभिप्राय नदेखिएमा सो निष्क्रियताले,–
(क) सो अध्यादेश निष्क्रिय हुँदाका बखत चल्ती नभएको वा कायम नरहेको कुनै कुरा पनि जगाउने छैन,
(ख) सो अध्यादेश बमोजिम चालू भएको कुरा वा सो बमोजिम रीत पु¥याई अघि नै गरिएको कुनै काम वा भोगिसकेको कुनै कुरालाई असर पार्ने छैन,
(ग) सो अध्यादेश बमोजिम पाएको, हासिल गरेको वा भोगेको कुनै हक, सुविधा, कर्तव्य वा दायित्वमा असर पार्ने छैन,
(घ) सो अध्यादेश बमोजिम गरिएको कुनै दण्ड सजाय वा जफतलाई असर पार्ने छैन,
(ङ) माथि लेखिएको कुनै त्यस्तो हक, सुविधा, कर्तव्य, दायित्व वा दण्ड सजायका सम्बन्धमा गरिएको कुनै काम कारबाही वा उपायलाई असर पार्ने छैन र सो अध्यादेश कायम रहे सरह त्यस्तो कुनै कानूनी कारबाही वा उपायलाई पनि शुरु गर्न, चालू राख्न वा लागू गर्न सकिनेछ ।

0 Comments

There are no comments yet

Leave a comment