Skip to content Skip to left sidebar Skip to footer

जी.पी. कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार विकास समिति (गठन) आदेश, २०७०

जी.पी. कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार विकास समिति (गठन) आदेश, २०७०
नेपाल राजपत्रमा प्रकाशित मिति
२०७०।३।२४

विकास समिति ऐन, २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको आदेश जारी गरेको छ ।

१. १. संक्षिप्त नाम र प्रारम्भः

(१) यस आदेशको नाम “जी.पी. कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार विकास समिति (गठन) आदेश, २०७०” रहेको छ ।
(२) यो आदेश तुरुन्त प्रारम्भ हुनेछ ।

२.२. परिभाषाः

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस आदेशमा,
(क) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(ख) “कार्यकारी निर्देशक” भन्नाले दफा ६ बमोजिमको कार्यकारी निर्देशक सम्झनु पर्छ ।
(ग) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस आदेश अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(घ) “मन्त्रालय” भन्नाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्झनु पर्छ ।
(ङ) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको अध्यक्ष, सदस्य तथा सदस्य–सचिव समेतलाई जनाउँछ ।
(च) “समिति” भन्नाले दफा ३ बमोजिम गठन भएको जी.पी. कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार विकास समिति सम्झनु पर्छ ।

३.३. समितिको गठनः

(१) श्वास प्रश्वासबाट उत्पन्न हुने रोगको उपचार गर्ने कार्य समेतको लागि जी.पी. कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार विकास समिति नामको एक समिति गठन गरिएको छ । (२) उपदफा (१) बमोजिमको समितिको गठन देहाय बमोजिम हुनेछः–

(क) स्वास्थ्य सेवाको बाह्रौं तहका चिकित्सकमध्येबाट नेपाल सरकारले मनोनयन गरेको व्यक्ति – अध्यक्ष
(ख) प्रतिनिधि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय – सदस्य
(ग) प्रतिनिधि, अर्थ मन्त्रालय – सदस्य
(घ) प्रमुख जिल्ला अधिकारी, तनहुँ – सदस्य
(ङ) लब्ध प्रतिष्ठित व्यक्तिहरूमध्येबाट कम्तीमा एकजना चिकित्सक र एकजना महिला रहने गरी
मन्त्रालयले मनोनयन गरेका तीनजना – सदस्य
(च) समिति रहेको जिल्लाका समाजसेवीहरूमध्येबाट मन्त्रालयले मनोनयन गरेको एकजना – सदस्य
(छ) कार्यकारी निर्देशक – सदस्य–सचिव
(३) उपदफा (२) को खण्ड (ङ) र (च) बमोजिम मनोनीत सदस्यहरूको पदावधि चार वर्षको हुनेछ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै मनोनीत सदस्यले आफ्नो पद अनुरुप काम नगरेमा मन्त्रालयले निजलाई जुनसुकै बखत हटाउन सक्नेछ ।
(५) उपदफा (४) बमोजिम सदस्यबाट हटाउनु अघि निजलाई आफ्नो सफाई पेश गर्ने मौका दिइनेछ ।

४.४. समितिको काम, कर्तव्य र अधिकारः

यस आदेशमा अन्यत्र लेखिएको काम, कर्तव्य तथा अधिकारको अतिरिक्त समितिको काम, कर्तव्य तथा अधिकार देहाय बमोजिम हुनेछः–

(क) समितिको वार्षिक कार्यक्रम तथा योजना तर्जुमा गरी कार्यान्वयन गर्ने, गराउने,
(ख) समितिको लागि आवश्यक पर्ने अस्पताल लगायतका अन्य पूर्वाधारको निर्माण गर्ने,
(ग) श्वास प्रश्वासको उपचार सम्बन्धी विषयमा अनुसन्धान गर्ने, गराउने,
(घ) श्वास प्रश्वासको उपचार सम्बन्धी विषयमा तालीम सञ्चालन गर्ने,
(ङ) श्वास प्रश्वास सम्बन्धी उपचार गर्ने विभिन्न निकायसँग सहकार्य तथा समन्वय गर्ने,
(च) श्वास प्रश्वास रोगको उपचारको क्षेत्रमा आवश्यक दक्ष जनशक्ति तयार गर्ने,गराउने,
(छ) समितिबाट प्रदान गरिने सेवा बापत लिने शुल्क निर्धारण गर्ने,
(ज) निःशुल्क तथा कम शुल्कका शैयाको संख्या र त्यस्तो शुल्कको दर निर्धारण गर्ने,
(झ) आर्थिक दृष्टिले असक्षम मानिएका बिरामीको लागि कम शुल्क लिई वा निःशुल्क उपचारको व्यवस्था गर्ने सम्बन्धमा मापदण्ड बनाउने,
(ञ) समितिको लागि आवश्यक स्रोत तथा साधनको व्यवस्था गर्ने,
(ट) श्वास प्रश्वास सम्बन्धी रोगको उपचार तथा अनुसन्धान गर्न तोकिए बमोजिम अस्पताल सञ्चालन गर्ने,
(ठ) श्वास प्रश्वास रोग सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी तथा सेमिनार आयोजना गर्ने,
(ड) श्वास प्रश्वास सम्बन्धी रोगको निदान, उपचार तथा रोकथाम गर्ने सम्बन्धमा आवश्यक अन्य कार्य गर्ने,
(ढ) समितिको वार्षिक बजेट स्वीकृत गर्ने,
(ण) तोकिए बमोजिमका अन्य कार्यहरू गर्ने, गराउने ।

५.५. समितिको बैठक सम्बन्धी कार्यविधिः

(१) समितिको बैठक आवश्यकता अनुसार बस्नेछ ।
(२) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ । तर अध्यक्ष नभएको अवस्थामा समितिको बैठक बस्न आवश्यक भएमा सदस्य– सचिवले सदस्यहरूसँग परामर्श गरी समितिको बैठक बोलाउन सक्नेछ ।
(३) समितिको बैठक बस्नुभन्दा कम्तीमा चौबीस घण्टा अगावै समितिको सदस्य– सचिवले बैठकमा छलफल हुने विषय सहितको सूचना सबै सदस्यहरूलाई दिनु पर्नेछ ।
(४) समितिको कूल सदस्य संख्याको पचास प्रतिशत भन्दा बढी सदस्यहरू उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(५) समितिको बैठकको अध्यक्षता अध्यक्षले र निजको अनुपस्थितिमा समितिका सदस्यहरूले आफूहरूमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(६) समितिको बैठकमा बहुमतले राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(७) समितिको निर्णय अध्यक्ष र सदस्य–सचिवले प्रमाणित गरी राख्नेछ ।
(८) समितिले आवश्यक देखेमा कुनै विशेषज्ञ वा नेपाल सरकारको कुनै अधिकृतलाई समितिको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(९) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

६.६. कार्यकारी निर्देशक सम्बन्धी व्यवस्थाः

(१) समितिको प्रशासकीय प्रमुखको रुपमा काम गर्न एकजना कार्यकारी निर्देशक रहनेछ ।
(२) नेपाल सरकारले श्वास प्रश्वास रोग सम्बन्धी विशेषज्ञ चिकित्सक वा स्वास्थ्य सम्बन्धी विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरी स्वास्थ्य सेवाका क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव प्राप्त गरेका व्यक्तिहरूमध्येबाट कार्यकारी निर्देशकको नियुक्ति गर्नेछ ।
(३) कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यकारी निर्देशकले पदीय जिम्मेवारी पूरा नगरेमा वा समितिको हित विपरीत कुनै काम गरेमा नेपाल सरकारले निजको पदावधि पूरा नहुँदै निजलाई कार्यकारी निर्देशकको पदबाट हटाउन सक्नेछ ।
(५) उपदफा (४) बमोजिम कार्यकारी निर्देशकको पदबाट हटाउनु अघि निजलाई सफाई पेश गर्ने मौका दिइनेछ ।
(६) कार्यकारी निर्देशकको पारिश्रमिक तथा सुविधा तोकिए बमोजिम हुनेछ । त्यसरी नतोकिएसम्म निजको पारिश्रमिक तथा सुविधा अर्थ मन्त्रालयको स्वीकृतिमा मन्त्रालयले तोके बमोजिम हुनेछ ।

७.७. कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकारः

कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) समितिबाट स्वीकृत कार्यक्रम कार्यान्वयन गर्ने,
(ख) समितिको निर्णय कार्यान्वयन गर्ने, गराउने,
(ग) समितिको वार्षिक कार्यक्रम तथा बजेट तयार गरी समिति समक्ष पेश गर्ने,
(घ) समितिको काम कारबाहीको सम्बन्धमा विभिन्न निकायसँग समन्वय गर्ने,
(ङ) समितिबाट प्रत्यायोजित तथा निर्देशन भए बमोजिमका कार्य गर्ने गराउने,
(च) तोकिए बमोजिमका अन्य काम गर्ने, गराउने ।

८.८. कर्मचारी सम्बन्धी व्यवस्थाः

(१) समितिमा आवश्यक संख्यामा कर्मचारीहरू रहने छन् ।
(२) समितिले आफ्नै स्रोतबाट व्यहोर्ने गरी लोकसेवा आयोगबाट स्वीकृत सिद्धान्त र तरिका अपनाई तोकिए बमोजिम खुल्ला प्रतियोगिताद्वारा कर्मचारी नियुक्त गर्न सक्नेछ । (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि समितिमा कर्मचारी नियुक्त नभएसम्म समितिको अनुरोधमा मन्त्रालयले नेपाल सरकारका कर्मचारीलाई समितिको काममा खटाउन सक्नेछ । (४) उपदफा (२) बमोजिम नियुक्त कर्मचारीको पारिश्रमिक, सुविधा तथा सेवाको शर्त सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ र त्यसरी नतोकिएसम्म निजको पारिश्रमिक, सुविधा तथा सेवाको शर्तहरू अर्थ मन्त्रालयको स्वीकृतिमा मन्त्रालयले तोके बमोजिम हुनेछ । (५) समितिका कर्मचारीको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।

९.९. समितिको कोषः

(१) समितिको नाममा एउटा छुट्टै कोष रहनेछ र सो कोषमा देहाय बमोजिमका रकमहरू रहने छन्ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) समितिले प्रदान गरेको सेवा तथा सुविधा बापत प्राप्त रकम,
(ग) स्वदेशी व्यक्ति, संघ, संस्था वा निकायबाट प्राप्त रकम,
(घ) विदेशी सरकार, संघ संस्था वा व्यक्तिबाट अनुदान वा ऋण स्वरुप प्राप्त रकम,
(ङ) अन्य स्रोतबाट प्राप्त रकम । (२) समितिले उपदफा (१) को खण्ड (घ) बमोजिमको कुनै रकम प्राप्त गर्नु अघि अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।
(३) समितिको तर्फबाट गरिने सम्पूर्ण खर्च उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ ।
(४) समितिको कोषमा रहेको रकम समितिले नेपालभित्रको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गर्नेछ ।
(५) समितिको कोषको सञ्चालन समितिको सदस्य–सचिव र लेखा सम्बन्धी काम गर्ने प्रमुख कर्मचारीको संयुक्त दस्तखतबाट हुनेछ ।

१०.१०. सम्बन्धित कार्यको लागि रकम खर्च गर्नु पर्नेः

नेपाल सरकारले कुनै खास कामको लागि समितिलाई रकम प्रदान गरेको भए समितिले त्यस्तो रकम सोही काममा मात्र खर्च
गर्नु पर्नेछ ।

११.११. लेखा र लेखापरीक्षणः

(१) समितिको आयव्ययको लेखा नेपाल सरकारले अपनाएको ढाँचा बमोजिम राखिनेछ ।
(२) समितिको लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ ।
(३) मन्त्रालयले चाहेमा समितिको आयव्ययको लेखा, नगदी, जिन्सी वा अन्य कागजात जुनसुकै बखत जाँच्न वा जाँच्न लगाउन सक्नेछ ।

१२.१२. उपसमिति वा कार्यदल गठन गर्न सक्नेः

(१) समितिले आफ्नो काम सुचारुरुपले सञ्चालन गर्नको लागि सम्बन्धित क्षेत्रका विज्ञहरू समेत रहेको उपसमिति वा कार्यदल
गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठन भएको उपसमिति वा कार्यदलको काम, कर्तव्य र अधिकार, कार्यावधि तथा त्यस्तो उपसमिति वा कार्यदलका सदस्यहरूले पाउने सुविधा समितिले तोकिदिए बमोजिम हुनेछ ।

१३.१३. बैठक भत्ताः

समिति तथा दफा १२ बमोजिम गठित उपसमिति वा कार्यदलका सदस्यहरूले बैठकमा भाग लिए बापत अर्थ मन्त्रालयको स्वीकृतिमा मन्त्रालयले तोकिदिए बमोजिमको बैठक भत्ता पाउने छन् ।

१४.१४. वार्षिक प्रतिवेदन पेश गर्नेः

समितिले वर्षभरिमा आफूले गरेको काम कारबाहीको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ

१५.१५. अधिकार प्रत्यायोजनः

समितिले आफूलाई प्राप्त अधिकारहरूमध्ये आवश्यकता अनुसार केही अधिकार अध्यक्ष, सदस्य, कार्यकारी निर्देशक, दफा १२ बमोजिम गठित उपसमिति वा कार्यदल वा समितिको कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।

१६.१६. समितिको कार्यालय र नामाकरणः

(१) समितिको कार्यालय तनहुँ जिल्लाको दुलेगौंडा गा.वि.स. मा रहनेछ ।
(२) समितिको कार्यालय जी.पी. कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रको नामबाट प्रचलित हुनेछ ।

१७.१७. निर्देशन दिन सक्नेः

मन्त्रालयले समितिलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यसरी दिइएको निर्देशनको पालना गर्नु समितिको कर्तव्य हुनेछ ।

१८.१८. नेपाल सरकारसँग सम्पर्कः

समितिले नेपाल सरकारसँग सम्पर्क राख्दा मन्त्रालय मार्फत राख्नु पर्नेछ ।

१९.१९. नियम बनाउने अधिकारः

(१) यस आदेशको कार्यान्वयनको लागि समितिले आवश्यक नियम बनाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम बनाइएको नियम मन्त्रालयबाट स्वीकृत भएपछि लागू हुनेछ ।
(३) उपनियम (२) बमोजिम मन्त्रालयले नियममा स्वीकृति दिनु अघि अर्थ

 

0 Comments

There are no comments yet

Leave a comment