Skip to content Skip to left sidebar Skip to footer

परिच्छेद–३ प्रदूषणको रोकथाम तथा नियन्त्रण

१५. मापदण्ड विपरीत फोहर मैला निष्काशन गर्न नहुने ः मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मापदण्ड विपरीत हुने गरी कसैले पनि कुनै यान्त्रिक साधन,औद्योगिक प्रतिष्ठान वा अन्य ठाउँबाट ध्वनि, ताप, रेडियोधर्मी विकिरण तथा फोहर मैला
निष्काशन गर्न गराउन हुँदैन ।

१६. अस्थायी वा स्थायी प्रदूषण नियन्त्रण प्रमाणपत्र सम्बन्धी व्यवस्थाः (१) अनुसूची–७ मा उल्लेख भए बमोजिमका हाल संचालन भई रहेका उद्योगले यो नियमावली प्रारम्भ भएको मितिले ९० दिन भित्र र यो नियमावली प्रारम्भ हुनु पूर्व दर्ता भई उत्पादन शुरु नभएका उद्योग वा यो नियमावली प्रारम्भ भएपछि दर्ता हुने उद्योगले उत्पादन शुरु गरेको मितिले साठी दिनभित्र सम्बन्धित उद्योगको विस्तृत विवरण उल्लेख गरी अस्थायी प्रदूषण नियन्त्रण  प्रमाणपत्र लिन सम्बन्धित निकाय समक्ष निवेदन दिनु पर्नेछ । यसरी निवेदन प्राप्त भएमा सम्बन्धित निकायले सो निवेदन उपर जाँचबुझ गरी आवश्यकता अनुसार उद्योग सञ्चालन हुने गाउँ विकास समिति वा नगरपालिकाको राय सुझाव समेत लिँदा त्यस्तो उद्योग सञ्चालन गर्दा वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पर्ने नदेखेमा वा त्यस्तो प्रभाव कम वा नियन्त्रण गर्न सकिने भएमा त्यस्तो निवेदन प्राप्त भएको मितिले नब्बे दिन भित्र निवेदकलाई एक वर्षको निमित्त अस्थायी प्रदूषण नियन्त्रण प्रमाणपत्र दिनेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियमावली प्रारम्भ भएपछि दर्ता हुने उद्योगले नियम ४ बमोजिम क्षेत्र निर्धारण गर्ने सिलसिलामा वा नियम ७ बमोजिम प्रतिवेदन तयार गर्ने सिलसिलामा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको राय सुझाव प्राप्त गरिसकेको भए सम्बन्धित निकायले उपनियम (१) बमोजिम उद्योग सञ्चालन गर्दा वातावरणमा पर्ने प्रभावको सम्बन्धमा पुनः गाउँ विकास
समिति वा नगरपालिकाको राय सुझाव लिनु पर्ने छैन ।

(३) नियम १५ बमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै उद्योगको ध्वनि, ताप, रेडियोधर्मी विकिरण तथा फोहरमैला सम्बन्धी मापदण्ड तोकिएको रहेछ भने त्यस्ता उद्योगलाई यसरी मापदण्ड तोकिएको मितिले ६ महिना भित्र ऐनको दफा ११ बमोजिम स्थापना गरिएका वा तोकिएका प्रयोगशालाबाट परीक्षण गराई सम्बन्धित निकायले तीन वर्षको लागि स्थायी प्रदूषण नियन्त्रण प्रमाणपत्र दिनु पर्नेछ ।

(४) उपनियम (१) र (३) बमोजिम तोकिएको म्यादभित्र अस्थायी वा स्थायी प्रदूषण नियन्त्रण प्रमाणपत्र वितरण गर्न नसिकएमा सम्बन्धित निकायले उक्त म्याद समाप्त भएको मितिले थप तीन महिना भित्र त्यस्तो प्रमाणपत्र दिन सक्नेछ ।

(५) उपनियम (१) र (३) बमोजिम अस्थायी वा स्थायी प्रदूषण नियन्त्रण प्रमाणपत्र दिँदा सम्बन्धित निकायले त्यस्तो उद्योगहरूले पालन गर्नु पर्ने गरी आवश्यकता अनुसार देहायका सबै वा कुनै शर्तहरू तोक्न सक्नेछ ः–

(क) प्रदूषण कम गर्न वा नियन्त्रण गर्न आवश्यक उपकरणहरू निर्धारित
समयमा जडान गर्ने,

(ख) जडान भएका प्रदूषण नियन्त्रण उपकरणहरूको उचित प्रयोग गर्ने,
(ग) निर्धारित समयमा मात्र उद्योग सञ्चालन गर्ने,
(घ) कुनै उद्योग हाता भित्र कुनै काम गरिएबाट प्रदूषण भएकोमा सो काम रोक्का गर्नको लागि खास उपायहरू अवलम्वन गर्ने,
(ङ) कुनै उद्योगको काम कारबाहीबाट उद्योग हाता बाहिर प्रदूषण भएमा सो काम कारवाहीलाई नियन्त्रण गर्नको लागि खास उपायहरू
अवलम्बन गर्ने,
(च) अनुगमनको लागि आवश्यक पर्ने उपकरणहरू निश्चित समयमा उपलब्ध गराउने,
(छ) सम्बन्धित निकायले उद्योगको प्रकृति अनुसार आवश्यक सम्झी तोकिदिएका अन्य शर्त बमोजिमका काम गर्ने ।

(६) उपनियम (१) बमोजिमको अस्थायी प्रदूषण नियन्त्रण प्रमाणपत्र प्रत्येक एक वर्षमा र उपनियम (३) बमोजिमको स्थायी प्रदूषण नियन्त्रण प्रमाणपत्र प्रत्येक तीन वर्षमा नवीकरण गराउनु पर्नेछ ।

(७) यस नियम बमोजिम पाएको अस्थायी वा स्थायी प्रदूषण नियन्त्रण प्रमाणपत्रमा उल्लिखित शर्तहरू सबैले देख्ने गरी उद्योग सञ्चालन भएको ठाउँमा राख्नु पर्नेछ ।

(८) सम्बन्धित निकायले यस नियम बमोजिम प्रमाणपत्र पाएका उद्योगहरूको नामावली अद्यावधिक रूपमा राखी सो नामावली मन्त्रालयलाई उपलब्ध गराउनु पर्नेछ ।

१७. प्रदूषण गरेमा वा फोहरमैला निष्काशन गरेमा उजूरी गर्न सक्ने ः कुनै व्यक्ति, संस्था वा उद्योगले ऐन वा यस नियमावली बमोजिम तोकिएको शर्त वा मापदण्ड अनुरुप प्रदूषण नियन्त्रण नगरेमा वा फोहर मैला निष्काशन गरेमा सो कार्यबाट प्रभावित व्यक्ति, संस्था, गाउँ
विकास समिति वा नगरपालिकाले सम्बन्धित निकायमा उजूर गर्न सक्नेछ ।

१८. प्रदूषण निष्काशन गर्न वा फोहोर मैला निष्काशन नगर्न सूचना गर्ने ः (१) सम्बन्धित निकायले जाँचबुझको सिलसिलामा वा नियम १७ बमोजिम उजूरी परी जाँचबुझ गर्दा कुनै व्यक्ति, संस्था वा उद्योगले ऐन र यस नियमावली बमोजिम तोकिएको शर्त वा मापदण्ड
अनुरुप प्रदूषण नियन्त्रण नगरेको वा फोहरमैला निष्काशन गरेको देखिएमा त्यस्तो व्यक्ति, संस्था वा उद्योगलाई सम्बन्धित निकायले त्यस्तो शर्त वा मापदण्ड अनुरुप प्र्रदूषण नियन्त्रण गर्न वा फोहरमैला निष्काशन नगर्नको लागि तुरुन्त सूचना गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम सम्बन्धित व्यक्ति, संस्था वा उद्योगलाई सूचना दिँदा देहायका कुनै वा सबै काम तुरुन्त गर्नु भनी समयावधि तोकी सम्बन्धित निकायले आदेश दिन सक्नेछ ः–
(क) प्रदूषण नियन्त्रण गर्ने वा फोहरमैला निष्काशन नगर्ने सम्बन्धमा तुरुन्त अवलम्बन गर्नु पर्ने कुराहरू,
(ख) कुनै उपकरण वा साधन प्रयोग गर्न, सञ्चालन गर्न वा त्यस्तो उपकरणमा सुधार गर्न,
(ग) प्रयोग वा सञ्चालन गरिएका कुनै वा सबै उपकरण प्रयोग वा सञ्चालन नगर्न,
(घ) निश्चित अनुगमन कार्यक्रम अवलम्बन गरी आफू समक्ष प्रतिवेदन पेश गर्न लगाउन,
(ङ) प्रदूषण नियन्त्रण गर्न तथा फोहरमैला निष्काशन नगर्न विभिन्न किसिमका वैकल्पिक उपायहरू अवलम्बन गर्न,
(च) वातावरण व्यवस्थापन प्रणाली विकसित गरी सो को जानकारी दिन लगाउन,
(छ) प्रदूषणको नियन्त्रण तथा फोहरमैला निष्काशन सम्बन्धी कार्यमा रोक लगाउने विषयमा उपयुक्त सम्झेको अन्य कार्य गर्न लगाउन ।

१९. शर्तहरू परिवर्तन गर्न सक्ने ः (१) प्रदूषण कम गर्ने वा नियन्त्रण गर्ने सम्बन्धमा नियम १६ को उपनियम (५) बमोजिम तोकिएका शर्तहरूमा केही परिवर्तन गरी अन्य उपायहरू अवलम्बन गर्न उपयुक्त भएमा उद्योगले सोही व्यहोरा खुलाई सम्बन्धित निकाय समक्ष निवेदन
दिन सक्नेछ ।(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा निवेदनमा उल्लेख भए बमोजिम प्रदूषण कम वा नियन्त्रण गर्न अन्य उपायहरू अवलम्बन गर्न सकिने देखिएमा सम्बन्धित निकायले निवेदकको माग बमोजिम केही शर्तहरू परिवर्तन गरी अन्य उपायहरू
अवलम्बन गर्न स्वीकृति दिन सक्नेछ ।

२०. सम्बन्धित निकाय आफैले सरसफाई सम्बन्धी काम गर्न सक्नेः (१) कुनै व्यक्ति, संस्था वा उद्योगले ऐन वा यस नियमावलीमा तोकिएको शर्त वा मापदण्ड विपरीत फोहरमैला निष्काशन नगर्ने सूचना गर्दा पनि फोहरमैला निष्काशन गरेको कारणले सर्वधारणमा प्रतिकूल असर पर्न गएमा सम्बन्धित निकायले आफ्नै खर्चमा त्यस्तो फोहरमैला हटाउन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम सम्बन्धित निकायले कुनै ठाउँबाट फोहरमैला हटाउँदा लागेको खर्च र सो काम गरे वापतको थप पच्चीस प्रतिशत रकम त्यस्तो फोहरमैला निष्काशन गर्ने व्यक्ति, संस्था वा उद्योगसँग प्रचलित कानुन बमोजिम सरकारी बाँकी सरह असूल उपर गर्नेछ ।