Skip to content Skip to left sidebar Skip to footer

परिच्छेद– २ प्रारम्भिक वातावरणीय परीक्षण तथा वातावरणीय प्रभाव मूल्याङ्कन

३. प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु पर्ने ः प्रस्तावकले अनुसूची–१ मा उल्लेख भएका प्रस्तावहरूको प्रारम्भिक वातावरणीय परीक्षण र अनुसूची–२ मा उल्लेख भएका प्रस्तावहरूको वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु पर्नेछ ।

४. वातावरणीय प्रभाव मूल्याङ्कनको लागि क्षेत्र निर्धारण (स्कोपि·) गर्नु पर्ने ः (१) वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु पर्ने कुनै प्रस्तावको सम्बन्धमा प्रस्तावकले प्रस्ताव कार्यान्वयन हुने गाउँ विकास समिति वा नगरपालिका तथा त्यस क्षेत्रका विद्यालय अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थालाई सो प्रस्तावको कार्यान्वयनबाट वातावरणमा पर्न सक्ने प्रभावको सम्बन्धमा लिखित सुझाव दिनको लागि पन्ध्र दिनको अवधि तोकी राष्ट्रिय स्तरको कुनै एक दैनिक समाचारपत्रमा सूचना प्रकाशन गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको सूचना प्रकाशित भएपछि सो सम्बन्धमा कसैको राय सुझाव भए त्यसरी सूचना प्रकाशन भएको मितिले पन्ध्र दिनभित्र सम्बन्धित प्रस्तावकलाई आफ्नो राय सुझाव दिन सकिनेछ । यसरी राय सुझाव दिनेले त्यसको जानकारी सम्बन्धित निकायलाई समेत दिन सक्नेछ ।

(३) उपनियम (२) बमोजिम प्राप्त राय सुझाव समेत संलग्न गरी प्रस्तावकले सो प्रस्तावको कार्यान्वयनबाट वातावरणको के कस्तो क्षेत्रमा कस्तो प्रभाव पर्दछ सो उल्लेख गरी क्षेत्र निर्धारणको लागि सम्बन्धित निकाय समक्ष निवेदन दिनु पर्नेछ ।

(४) उपनियम (३) बमोजिम निवेदन प्राप्त भएपछि सम्बन्धित निकायले निवेदनसाथ संलग्न कागजात जाँचबुझ गरी क्षेत्र निर्धारण सम्बन्धमा आफ्नो राय सहित सो निवेदन मन्त्रालयमा पठाउनु पर्नेछ ।

(५) उपनियम (४) बमोजिम क्षेत्र निर्धारणको लागि कुनै निवेदन प्राप्त भएमा मन्त्रालयले सो निवेदनसाथ संलग्न कागजात जाँचबुझ गरी प्रस्तावित वा संशोधित रूपमा क्षेत्र निर्धारण गरी दिनु पर्नेछ ।

५. प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कनको लागि कार्यसूची स्वीकृत गर्नु पर्ने ः (१) प्रारम्भिक वातावरणीय परीक्षण गर्नु पर्ने प्रस्तावको हकमा प्रस्तावकले सोको प्रतिवेदनको लागि अनुसूची–३ बमोजिमको ढाँचामा कार्यसूची बनाई सो कार्यसूची सम्बन्धित निकायबाट स्वीकृत गराउनु पर्नेछ ।

(२) वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु पर्ने प्रस्तावको हकमा प्रस्तावकले सोको प्रतिवेदनको लागि नियम ४ बमोजिम मन्त्रालयले निर्धारण गरेको क्षेत्र समेतको आधारमा अनुसूची–४ बमोजिमको ढाँचामा कार्यसूची बनाई सो कार्यसूची मन्त्रालयबाट स्वीकृत गराउनु पर्नेछ ।
तर कुनै प्रस्तावकले वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु पर्ने प्रस्तावको प्रवितेदन तयारीको लागि नियम ४ बमोजिमको क्षेत्र निर्धारण र कार्यसूची बनाई सम्बन्धित निकायको राय सहित मन्त्रालयमा एकै पटक पठाएमा मन्त्रालयले एकै पटक क्षेत्र निर्धारण र कार्यसूची स्वीकृत गरी दिन सक्नेछ ।

(२क) कुनै प्रस्तावको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु पर्ने भएमा प्रस्तावकले क्षेत्र निर्धारण र कार्यसूची स्वीकृत गराउने प्रक्रिया बाहेक यस नियमावली बमोजिमको अन्य सबै प्रक्रिया पूरा गर्नु पर्नेछ ।

स्पष्टीकरण ः यस नियमावलीको प्रयोजनको लागि पूरक वातावरणीय प्रभाव मूल्याङ्कन भन्नाले एकपटक स्वीकृत भई सकेको वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धी प्रस्तावमा आंशिक रुपमा भौतिक पूर्वाधार, डिजाईन वा स्वरुप परिमार्जन गर्ने, संरचना स्थानान्तरण वा फेरबदल गर्ने, वन क्षेत्र वा आयोजनाको क्षमता थप गर्नको लागि पेश भएको प्रस्ताव उपर पुनः गरिने वातावरणीय प्रभाव मूल्यांकन सम्झनु पर्छ ।

(३) उपनियम (१) र (२) बमोजिम कार्यसूची स्वीकृत गर्दा प्रस्तावको प्रकृति अनुसार सम्बन्धित निकाय वा मन्त्रालयले त्यस्तो कार्यसूचीलाई आवश्यकता अनुसार सामान्य हेरफेर वा परिमार्जन गर्न सक्नेछ ।

६. पुनः कारबाही गर्नु पर्नेः प्रस्तावकले यस नियमावली बमोजिम प्रारम्भिक वातावरणीय परीक्षणको प्रतिवेदन तयार गरेकोमा ऐनको दफा ६ को उपदफा (२) बमोजिम सो प्रस्ताव साथ प्राप्त प्रतिवेदन जाँचबुझ गर्दा प्रस्तावको वातावरणीय प्रभाव मूल्याङ्कन समेत गर्नु पर्ने गरी सम्बन्धित निकायले ठहर गरेमा प्रस्तावकले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गर्न पूरा गर्नु पर्ने यस नियमावली बमोजिमको सबै प्रक्रिया पूरा गर्नु पर्नेछ ।

७ प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्याङ्कनको लागि प्रतिवेदन तयार गर्ने ः (१) प्रस्तावकले नियम ५ बमोजिम स्वीकृत भएको कार्यसूचीको आधारमा अनुसूची– ५ बमोजिमको ढाँचामा प्रारम्भिक वातावरणीय परीक्षण र अनुसूची–६ बमोजिमको ढाँचामा वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी प्रतिवेदन तयार गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम प्रतिवेदन तयारीको सिलसिलामा प्रारम्भिक वातावरणीय परीक्षण गर्नु पर्ने प्रस्तावको सम्बन्धमा प्रस्तावकले प्रस्ताव कार्यान्वयन हुने गाउँ विकास समिति वा नगरपालिका तथा जिल्ला विकास समिति वा सरोकार राख्ने व्यक्ति वा संस्थालाई प्रस्तावको कार्यान्वयनबाट वातावरणमा पर्न सक्ने प्रभावको सम्बन्धमा प्रन्ध दिनभित्र लिखित राय सुझाव दिनको लागि सम्बन्धित गाउँ विकास समिति वा नगरपालिका, जिल्ला विकास समितिको कार्यालय, विद्यालय, अस्पताल र स्वास्थ्य केन्द्रमा सूचना टाँस गरी मुचुल्का तयार गर्नेछ र सोही बमोजिमको पन्ध्र दिने सूचना राष्ट्रिय स्तरको कुनै एक दैनिक समाचारपत्रमा समेत प्रकाशन गर्नु पर्नेछ । यसरी सूचना प्रकाशन भएपछि सो सम्बन्धमा कुनै राय सुझाव प्राप्त हुन आएमा सो राय सुझाव समेतलाई प्रतिवेदनमा समावेश गर्नु पर्नेछ ।
तर वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी प्रतिवेदन तयारीको सिलसिलामा प्रस्तावकले प्रस्ताव कार्यान्वयन हुने गाउँ विकास समिति वा नगरपालिकाको ईलाकामा एक पटक प्रस्ताव बारेमा सार्वजनिक सुनुवाईको आयोजना गरी राय सुझाव सङ्कलन गर्नु पर्नेछ ।

(३) कुनै प्रस्तावको क्षेत्र निर्धारण र कार्यसूची स्वीकृत भई सकेको तर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन पेश भई नसकेको अवस्थामा सो प्रस्तावको कुनै विषयमा परिवर्तन आउने भएमा परिवर्तन हुने विषय र त्यसको प्रभावलाई समेत प्रस्तावकले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा समावेश गरी पेश गर्नु पर्नेछ ।

८. …………….

९. ……………

१०. प्रस्ताव स्वीकृतिको लागि पेश गर्नु पर्नेः ऐनको दफा ५ बमोजिम कुनै प्रस्ताव कार्यान्वयन गर्न चाहने प्रस्तावकले नियम ७ बमोजिम तयार भएको प्रतिवेदनको पन्ध्र प्रति र सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको सिफारिश समेत संलग्न गरी उक्त प्रस्ताव स्वीकृतिका लागि सम्बन्धित निकाय समक्ष पेश गर्नु पर्नेछ ।

तर प्रस्तावकले पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिको लागि पेश गर्दा थप प्रभावित हुने क्षेत्रको सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको सिफारिस समेत संलग्न गर्नु पर्नेछ ।

११. प्रस्ताव कार्यान्वयन गर्न स्वीकृति दिन सक्नेः (१) नियम १० बमोजिम कुनै प्रस्ताव प्राप्त भएमा सम्बन्धित निकायले सो प्रस्ताव साथ संलग्न प्रतिवेदन जाँचबुझ गर्नेछ र जाँचबुझ गर्दा त्यस्तो प्रस्तावले वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पार्ने नदेखिएमा प्रारम्भिक वातावरणीय परीक्षण मात्र गरे हुने प्रस्तावको सम्बन्धमा सो प्रस्ताव प्राप्त भएको मितिले एक्काईस दिनभित्र आफैले स्वीकृति दिनेछ र वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु पर्ने प्रस्तावको सम्बन्धमा आफ्नो राय र प्रतिवेदनका दश प्रति संलग्न गरी प्रस्ताव प्राप्त भएको तीस दिनभित्र मन्त्रालयमा पठाउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम प्रस्ताव प्राप्त भएमा सो प्रस्ताव साथ प्राप्त प्रतिवेदनका सम्बन्धमा राय सुझाव दिनको लागि मन्त्रालयले राष्ट्रिय स्तरको कुनै एक दैनिक समाचारपत्रमा सार्वजनिक सूचना प्रकाशन गरी सो प्रतिवेदन आफैले उतार गरी लैजान वा अध्ययन गर्नको लागि सर्वसाधारणलाई तीस दिनको समय दिनेछ ।

(२क) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको सम्बन्धमा सर्वसाधारणले राय सुझाव दिनको लागि मन्त्रालयले राष्ट्रियस्तरको कुनै एक दैनिक समाचारपत्रमा पन्ध्र दिनको समय दिई सूचना प्रकाशन गर्नु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम प्रतिवेदनका सम्बन्धमा सर्वसाधारण व्यक्ति वा संस्थाको कुनै राय सुझाव भएमा त्यसरी प्रतिवेदन पहिलो पटक प्रकाशन भएको मितिले तीस दिनभित्र सम्बन्धित व्यक्ति वा संस्थाले आफ्नो राय सुझाव मन्त्रालयमा पठाई सक्नु पर्नेछ ।

(४) उपनियम (३) बमोजिम कुनै राय सुझाव प्राप्त भएमा सो राय सुझाव र ऐनको दफा ६ को उपदफा (४) बमोजिम कुनै समिति गठन गरिएकोमा सो समितिले दिएको राय सुझाव समेतको आधारमा प्रतिवेदन जाँचबुझ गर्दा त्यस्तो प्रस्तावले वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पार्ने नदेखिएमा मन्त्रालयले प्रस्ताव कार्यान्वयन गर्न स्वीकृति दिनेछ ।

(५) उपनियम (४) बमोजिम स्वीकृति दिँदा मन्त्रालय समक्ष प्रस्ताव प्राप्त भएको मितिले साठी दिन भित्र दिई सक्नु पर्नेछ ।

(६) उपनियम (५) बमोजिमको म्यादभित्र विशेष कारण परी स्वीकृति दिन नसकेमा मन्त्रालयले उक्त समय समाप्त भएको मितिले तीस दिन भित्र प्रस्ताव कार्यान्वयन गर्न स्वीकृति दिनेछ ।

११क. प्रस्तावको क्षेत्र निर्धारण (स्कोपिङ्ग), प्रतिवेदन तयारी तथा स्वीकृति सम्बन्धी विशेष व्यवस्था ः (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय विपद् वा प्राकृतिक प्रकोपको व्यवस्थापनसँग सम्बन्धित आयोजना वा नेपाल सरकारले तत्काल कार्यान्वयन गर्नु पर्ने भनी तोकेका योजना, आयोजना वा कार्यक्रमसँग सम्बन्धित प्रस्तावको क्षेत्र निर्धारण (स्कोपिङ्ग) गर्ने, प्रतिवेदन तयार गर्ने र प्रस्तावको स्वीकृति गर्ने कार्य देहाय बमोजिमको समयावधि भित्र सम्पन्न गर्नु पर्नेछ ः–

(क) नियम ४ को उपनियम (१) बमोजिम सुझाव लिने कार्य सात दिन,
(ख) नियम ४ को उपनियम (२) बमोजिम राय सुझाव दिने कार्य सात दिन,
(ग) नियम ७ को उपनियम (२) बमोजिम राय सुझाव दिने तथा सूचना प्रकाशन गर्ने कार्य सात दिन,
(घ) नियम ११ को उपनियम (१) बमोजिम प्रस्ताव स्वीकृति गर्ने वा प्रस्ताव स्वीकृतिको लागि प्रतिवेदन पठाउने कार्य पाँच दिन,
(ङ) नियम ११ को उपनियम (२) बमोजिम राय सुझाव लिनको लागि सूचना प्रकाशन गर्ने कार्य सात दिन,
(च) नियम ११ को उपनियम (३) बमोजिम राय सुझाव दिने कार्य दश दिन,
(छ) नियम ११ को उपनियम (५) बमोजिम प्रस्ताव स्वीकृति दिने कार्य बीस दिन ।

स्पष्टीकरण ः– यस नियमको प्रयोजनको लागि, –
(क) “राष्ट्रिय गौरवको आयोजना” भन्नाले नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजना भनी तोकेका आयोजना सम्झनु पर्छ ।
(ख) “विपद् वा प्राकृतिक प्रकोप व्यवस्थापनसँग सम्बन्धित आयोजना” भन्नाले प्रस्तावसँग सम्बन्धित मन्त्रालयले विपद् वा प्राकृतिक प्रकोपको व्यवस्थापनसँग सम्बन्धित आयोजना भनी तोकेको योजना, आयोजना वा कार्यक्रम सम्झनु पर्छ ।

(२) उपनियम (१) बमोजिम प्रस्तावसँग सम्बन्धित मन्त्रालयले कुनै आयोजनालाई विपद् वा प्राकृतिक प्रकोपसँग सम्बन्धित आयोजना तोकेमा त्यसको जानकारी मन्त्रालयलाई दिनु पर्नेछ ।

११ख. पूरक वातावरणीय प्रभाव मूलल्याङ्कनको लागि निवेदन दिनु पर्ने ः एक पटक स्वीकृत भई सकेको प्रस्तावमा पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु पर्ने र त्यसबाट वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पर्ने नदेखिएमा प्रस्तावकले त्यस्तो प्रस्तावको पूरक वातावरणीय प्रभाव मूल्याङ्कनका लागि परिवर्तन गर्नु परेको कारण र वातावरणमा पर्न सक्ने असरहरुका बारेमा विश्लेषण गरी वातावरणीय परिसूंचक बमोजिमको तुलनात्मक तालिका र अन्य आवश्यक पुष्ट्याईं सहित पूरक वातावरणीय प्रभाव मूल्याङ्कनको लागि सम्बन्धित निकायमा निवेदन दिनु पर्नेछ ।

११ग. मन्त्रालयमा सिफारिस गर्नु पर्ने ः (१) नियम ११ख. बमोजिम पर्न आएको निवेदन जाँचबुझ गर्दा पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्न उपयुक्त देखिएमा सम्बन्धित निकायले पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने अनुमतिका लागि मन्त्रालयमा सिफारिस गर्नु पर्नेछ ।

(२) नियम ११ख. मा जुनसुकै कुरा लेखिएका भए तापनि एकपटक स्वीकृत भइसकेको वातावरणीय प्रभाव मूल्याङ्कनमा केही भौतिक पूर्वाधार, डिजाईन, क्षमता वा स्वरुप परिमार्जन गर्ने, संरचना स्थानान्तरण वा फेरवदल गर्ने, रुख कटान सङ्ख्यामा थप गर्नु पर्ने भए तापनि पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु पर्ने अवस्था नदेखिएमा सम्बन्धित निकायले सो प्रस्तावको वातावरणीय व्यवस्थापन योजना स्वीकृतिको लागि मन्त्रालयमा सिफारिस गर्नु पर्नेछ ।

११घ. अनुमति दिन सक्ने ः (१) नियम ११ग. को उपनियम (१) बमोजिम पूरक वातावरणीय प्रभाव मूल्याङ्कनको लागि सम्बन्धित निकायबाट सिफारिस भई आएमा मन्त्रालयले देहायका अवस्थामा सो प्रस्तावको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्न अनुमति दिन सक्नेछ ः–

(क) आयोजनाको कुनै भौतिक संरचनात्मक इकाई विस्तार वा स्थानान्तरण गर्दा सो इकाई स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लिखित प्रभावित क्षेत्र भित्र पर्ने भएमा,
(ख) स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनम उल्लिखित वन क्षेत्रको दश प्रतिशत भन्दा बढी क्षेत्र थप हुने भएमा,
(ग) अन्य परिवर्तित संरचना वा इकाईको कारणले एक सय जनासम्म जनसङ्ख्याको स्थायी बसोबास स्थानान्तरण वा पुनर्वास गर्नु पर्ने अवस्था भएमा,
तर अन्य परिवर्तित संरचना वा इकाईको कारणले एक सय जनाभन्दा बढी जनसङ्ख्याको स्थायी बसोबास, स्थानान्तरण वा पुनर्वास गर्नु पर्ने अवस्थामा पुनः वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु पर्नेछ ।
(घ) समग्रमा वातावरण र जैविक विविधतामा उल्लेखनीय प्रतिकूल प्रभाव नपर्ने भएमा ।

(२) उपनियम (१) को खण्ड (घ) बमोजिम समग्रमा वातावरण र जैविक विविधतामा उल्लेखनीय प्रतिकूल प्रभाव पर्ने वा नपर्ने भन्ने विषयको निर्णय मन्त्रालयले गर्नेछ ।

११ङ. वातावरणीय व्यवस्थापन योजना स्वीकृत गर्न सक्ने ः नियम ११ग. को उपनियम (२) बमोजिम सम्बन्धित निकायबाट स्वीकृतिका लागि प्राप्त भएको वातावरणीय व्यवस्थापन योजना सम्बन्धी कागजातहरु अध्ययन गर्दा पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु पर्ने अवस्था नदेखिएमा मन्त्रालयले थप प्रभाव र सो को न्यूनीकरणको उपाय सहितको वातावरणीय व्यवस्थापन योजना स्वीकृत गर्न सक्नेछ ।

११च. प्रभावको क्षति न्यूनीकरण गर्नु पर्ने ः यस नियमावली बमोजिम पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा वातावरणमा नकरात्मक असर पर्न सक्ने देखिएमा प्रस्तावकले त्यस्तो प्रभावको क्षति आफ्नै खर्चमा न्यूनीकरण गर्नु पर्नेछ ।

११छ. खारेजी र बचाउ ः (१) पूरक वातावरणीय प्रभाव मूल्याङ्कन निर्देशिका, २०७१ खारेज गरिएको छ ।
(२) उपनियम (१) बमोजिमको निर्देशिका बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।

१२. प्रतिवेदन पालन गर्नु पर्ने ः प्रस्तावकले प्रस्ताव कार्यान्वयन गर्दा प्रतिवेदनमा उल्लेख भए बमोजिमका कुराहरू र सम्बन्धित निकाय वा मन्त्रालयले तोकिदिएका शर्तहरू अनिवार्य रूपले पालन गर्नु पर्नेछ ।

१३. अनुगमन तथा मूल्याङ्कन ः (१) प्रस्तावको कार्यान्वयनबाट वातावरणमा पर्ने प्रभावको अनुगमन तथा मूल्याङ्कन सम्बन्धित निकायले गर्नेछ ।

(२) उपनियम (१) बमोजिम अनुगमन तथा मूल्याङ्कन गर्दा प्रस्ताव स्वीकृत हुँदा तोकिएको शर्तमा उल्लेख गरिएका प्रभाव भन्दा बढी प्रभाव परेको देखिएमा सम्बन्धित निकायले त्यस्ता प्रभावहरू हटाउन वा हटाउने उपायहरू अवलम्बन गर्न प्रस्तावकलाई आवश्यक निर्देशन दिनेछ र त्यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित प्रस्तावकको कर्तव्य हुनेछ ।

(३) उपनियम (२) बमोजिम प्रस्तावकलाई दिएको निर्देशनको जानकारी सम्बन्धित निकायले मन्त्रालयलाई दिनु पर्नेछ ।

१४. वातावरणीय परीक्षण गरी अद्यावधिक राख्नु पर्ने ः मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु पर्ने प्रस्ताव कार्यान्वयन भई सेवा, वितरण वा उत्पादन शुरु भएको दुई वर्ष पछि त्यस्तो प्रस्तावको कार्यान्वयनबाट वातावरणमा पर्न गएको प्रभाव, त्यस्तो प्रभावलाई कम गर्न अपनाइएका उपाय आदिको वातावरणीय परीक्षण गरी अद्यावधिक रूपमा राख्नु पर्नेछ ।